भारत सरकारले आपराधिक गतिविधिमा प्रयोग भएको भन्दै गुगलको Firebase प्लेटफर्ममा रहेका सयौँ खाता तथा वेबसाइट बन्द गर्न निर्देशन दिएको छ। भारतीय साइबर अपराध समन्वय केन्द्र (I4C) ले अगस्ट महिनामा मात्रै Firebase मा होस्ट गरिएका कम्तीमा ५७ वटा वेबसाइट तथा डाटाबेस हटाउन गुगललाई निर्देशन दिएको हो।
समाचार एजेन्सी रोयटर्सले सरकारी सूचनाहरू र घटनाबारे प्रत्यक्ष जानकारी भएका स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार ती वेबसाइट तथा डाटाबेस बैंकको नक्कली वेबसाइट बनाएर मानिसलाई ठगी गर्ने, मालवेयर फैलाउने र संवेदनशील वित्तीय जानकारी चोरी गर्ने कार्यमा प्रयोग भएका थिए।
सरकारी सूचनामा उल्लेख गरिएका सातवटा वेबसाइट भारतीय बैंकहरू—स्टेट बैंक अफ इन्डिया (SBI), ICICI बैंक र Axis बैंकलगायत—को नक्कल गरेर बनाइएका फिसिङ पेज रहेको बताइएको छ। अन्य वेबसाइटहरू पीडितका मोबाइलबाट चोरी भएका क्रेडिट कार्ड विवरण, वन–टाइम पासवर्ड (OTP) लगायतका संवेदनशील सूचना संकलन गर्न प्रयोग भएको पाइएको थियो।
अगस्ट १७ को एक सूचनामा I4C ले एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गरी बैंकिङ सेवाजस्तो देखिने मालवेयर प्रयोग भइरहेको जनाएको छ। ठगी गर्नेहरूले नयाँ क्रेडिट कार्ड, पुरस्कार वा क्रेडिट लिमिट बढाउनेजस्ता प्रलोभन देखाएर पीडितलाई नक्कली एप डाउनलोड गर्न लगाउने गरेका थिए। एप इन्स्टल भएपछि मोबाइलबाट संकलित जानकारी ठगी गर्नेहरूको Firebase डाटाबेसमा पठाइने गरेको अधिकारीहरूले बताएका छन्।
सरकारी योजनाको नामसमेत दुरुपयोग भएको पाइएको छ। PM-KISAN योजनाबाट रकम प्राप्त गर्ने नाममा नक्कली वेबसाइटमार्फत एप डाउनलोड गराएर प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय जानकारी चोरी गर्ने प्रयास भएको थियो।
गुगलले आफ्ना सेवामा फिसिङ, मालवेयर र वित्तीय ठगी निषेधित रहेको बताउँदै कानुन कार्यान्वयन गर्ने निकायसँग सहकार्य गरेर यस्ता सूचनामाथि आवश्यक कारबाही गर्ने जनाएको छ।
भारतमा सन् २०२५ मा साइबर ठगीका कारण करिब २.४ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको सरकारी तथ्यांक उद्धृत गरिएको छ। पछिल्लो कदमले ठगी गर्ने वेबसाइट मात्र नभई त्यसका लागि प्रयोग भइरहेको डिजिटल पूर्वाधारमाथि समेत निगरानी बढाइएको संकेत गरेको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्