काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा नरहेका वा कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा नगरेका संस्थागत विद्यालयमाथि कारबाही अघि बढाउने भएको छ। महानगरपालिकाको शिक्षा विभागले यस्ता विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा ३५ दिने अत्यन्त जरुरी सूचना जारी गरेको हो।

शिक्षा विभागका अनुसार विगतमा प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति लिएर विद्यालय सञ्चालन गरिरहेको दाबी भए पनि हाल स्थलगत अनुगमनका क्रममा सञ्चालनमा नरहेका विद्यालयहरू भेटिएका छन्। त्यस्ता विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्था देखिएपछि महानगरपालिकाले सम्बन्धित विद्यालयलाई आफ्नो पक्ष राख्ने अवसर दिएको हो।
सूचनामा अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने कुनै कारण भए सम्बन्धित विद्यालयले ३५ दिनभित्र आधार, कारण र प्रमाणसहित आवश्यक कागजात शिक्षा विभागमा पेस गर्नुपर्ने उल्लेख छ। तोकिएको अवधिभित्र चित्तबुझ्दो आधार वा प्रमाण पेस नगरेमा प्रचलित कानुनअनुसार विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाइने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले शिक्षा ऐन, २०२८ को दफा १६(ख) तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन लागेको हो। शिक्षा समितिको २०८३/०४/२५ गते बसेको बैठकको निर्णयअनुसार सूचना प्रकाशित गरिएको महानगरपालिकाको सूचनामा उल्लेख छ।
महानगरपालिकाको शिक्षा विभागले यसअघि पनि कागजमा मात्र सीमित रहेका तथा वास्तविक रूपमा सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो।
महानगरपालिकाले अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने सूचीमा रहेका ९२ वटा संस्थागत विद्यालयलाई आवश्यक विवरण तथा प्रमाण पेस गर्न आग्रह गरेको छ। सम्बन्धित विद्यालयहरूको विवरण महानगरपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्