कंगनाको "सस्ती कपी" टिप्पणीपछि तापसीको जवाफ– उचित शिक्षा र हुर्काइ चाहिन्छ

insight dainik

बलिउड अभिनेत्री तापसी पन्नु र कंगना रनौतबीच लामो समयदेखि चल्दै आएको विवाद फेरि सतहमा आएको छ। दुवै अभिनेत्रीबीचको पुरानो मतभेद तापसीको पछिल्लो अभिव्यक्तिपछि पुनः चर्चामा आएको हो।

भारत टुडे वुमन्स समिटमा सहभागी तापसीले कंगनाबारे आफ्नो धारणा व्यक्त गर्दै आफूले कंगनाप्रति कुनै व्यक्तिगत दुर्भावना नराखेको बताइन्। उनले आफू र कंगनाले एकअर्कालाई आमनेसामने भेटेर कुराकानीसमेत नगरेको उल्लेख गर्दै दुवैको सोच र बोल्ने शैली उनीहरूको फरक पृष्ठभूमि तथा हुर्काइको प्रतिबिम्ब भएको बताइन्।

तापसीको उक्त भनाइलाई कंगनाले भने आफू र आफ्नो परिवार तथा पृष्ठभूमिमाथिको व्यक्तिगत टिप्पणीका रूपमा लिइन्। त्यसपछि कंगनाले सामाजिक सञ्जालमा तापसीमाथि तीखो टिप्पणी गर्दै उनलाई फेरि ‘सस्ती कपी’ अर्थात् सस्तो नक्कलको संज्ञा दिइन्। उनले तापसीको आगामी फिल्मलाई समेत लक्षित गर्दै आलोचना गरेकी थिइन्। कंगनाले ती विवादास्पद इन्स्टाग्राम स्टोरी केही समयपछि हटाइन्।

कंगनाको प्रतिक्रियापछि तापसीले सामाजिक सञ्जालमा छोटो रूपमा ‘Hence, proved’ लेखेकी थिइन्। उनको उक्त पोस्टलाई समर्थकहरूले कंगनालाई दिएको व्यंग्यात्मक जवाफका रूपमा व्याख्या गरेका छन्।

पछि हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै तापसीले आफू कंगनाले दिएको ‘सस्ती कपी’ टिप्पणीबाट कहिल्यै अपमानित नभएको बताइन्। उनले आफूले कंगनाको अभिनय क्षमताको सम्मान गर्ने पनि स्पष्ट पारिन्।

तापसीले आफ्नो भनाइको बचाउ गर्दै आफूले कसैको हुर्काइलाई अपमान नगरेको बताइन्। उनका अनुसार, मानिसले कसरी बोल्छ भन्ने कुरा उसको हुर्काइ र शिक्षासँग सम्बन्धित हुन्छ। उनले आफूले भनेको कुरा बुझ्न ‘उचित शिक्षा र हुर्काइ’ आवश्यक पर्ने टिप्पणीसमेत गरेकी छन्।

यससँगै तापसी र कंगनाबीचको पुरानो विवाद फेरि बलिउड तथा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्