काठमाडौंका सडकमा खाल्डाखुल्डी पुर्न ‘रोड एम्बुलेन्स’ सक्रिय

insight dainik

काठमाडौं उपत्यकाका सडकमा देखिने खाल्डाखुल्डीका कारण सवारी आवागमनमा हुने समस्या कम गर्न सडक डिभिजन कार्यालय काठमाडौंले विशेष ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ। सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले तत्काल मर्मत गर्न सकिने प्रणालीसहित एम्बुलेन्स परिचालन गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार चक्रपथभित्रका सडकमा मर्मतलाई प्राथमिकता दिएपछि अहिले चक्रपथबाहिरका सडकमा समेत अभियान विस्तार गरिएको छ। सवारीसाधनको चाप तुलनात्मक रूपमा कम हुने रातको समयमा पनि टोली परिचालन गरेर कामलाई तीव्रता दिइएको छ।

सोमबार साँझ नारायणगोपाल चोकदेखि बूढानीलकण्ठतर्फको सडकखण्डमा पर्ने गोल्फुटार, हात्तीगौंडालगायत क्षेत्रमा सडकका क्षतिग्रस्त भाग मर्मत गरिएको थियो। सडकमा खाल्डाखुल्डी पहिचान भएपछि प्राविधिक टोलीसहितको एम्बुलेन्स तत्काल सम्बन्धित स्थानमा पुगेर मर्मत गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

‘सडक एम्बुलेन्स’मा खाल्डो काट्ने, हावा तथा पानी प्रयोग गरेर सफा गर्ने, इमल्सन तताउने र छर्कनेलगायतका कामका लागि आवश्यक उपकरण जडान गरिएको छ। मर्मत कार्यका लागि तालिमप्राप्त प्राविधिक टोलीसमेत परिचालन गरिएको छ।

सडक मर्मत आवश्यक पर्ने स्थानको जानकारी संकलन गर्न कार्यालयले ‘रोड मेन्टिनेन्स साइट रेस्क्यु’ (RMSR) नामक मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। एपमार्फत प्राप्त सूचनाका आधारमा सम्बन्धित टोलीलाई परिचालन गरी तत्काल मर्मत गर्ने योजना छ।

कार्यालयले यो सेवा वर्षभरि ३६५ दिन चौबीसै घण्टा सञ्चालन गर्ने लक्ष्य राखेको छ। काठमाडौंमा पाइलट परियोजनाका रूपमा सुरु गरिएको अभियान प्रभावकारी भएमा देशका अन्य सडक डिभिजन कार्यालयमा समेत विस्तार गर्ने योजना रहेको जनाइएको छ। यसबाट सडकमा आकस्मिक रूपमा देखिने खाल्डाखुल्डी समयमै मर्मत गरी दुर्घटनाको जोखिम घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्