काठमाडौं । करदाताले अब मूल्य अभिवृद्धि कर (भ्याट) विवरण पेश गरेपछि भएको सामान्य त्रुटि आफैं सच्याउन सक्ने भएका छन्। आन्तरिक राजस्व विभागले नयाँ संस्करणको ‘करदाता पोर्टल’ परीक्षणका रूपमा सञ्चालनमा ल्याएसँगै यस्तो सुविधा उपलब्ध गराएको हो।
नयाँ प्रणालीअनुसार भ्याट विवरण पेश गरेपछि अंक वा अन्य सामान्य विवरणमा गल्ती भएको थाहा पाएमा करदाताले सात दिनभित्रै अनलाइनबाट संशोधन गर्न सक्नेछन्। यसअघि विवरणमा सामान्य त्रुटि भए पनि संशोधनका लागि सम्बन्धित कर कार्यालयमा पुग्नुपर्ने बाध्यता थियो।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार नयाँ व्यवस्थाले करदाताको समय र खर्च बचत गर्नुका साथै कर कार्यालयमा हुने भीडसमेत घटाउनेछ। करदाताले घरमै बसेर आफ्नो विवरण रुजु गरी आवश्यक सुधार गर्न सक्ने व्यवस्था गरिएको उनले बताए।
नयाँ पोर्टलमा स्रोतमा कर कट्टी (ईटीडीएस) सम्बन्धी प्रक्रिया पनि व्यवस्थित गरिएको छ। कर कट्टी भएको रकमको विवरण मासिक रूपमा प्रणालीमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ। तोकिएको समयमा रकम प्रणालीमा नदेखिए करदाताले सम्बन्धित निकायसँग त्यसबारे जानकारी माग्न सक्नेछन्।
त्यस्तै, प्यान, भ्याट, अन्तःशुल्कलगायत विभिन्न करसम्बन्धी सेवा एउटै पोर्टलमा समेटिएका छन्। करदाताले प्यान कार्ड, अन्तःशुल्क इजाजतपत्र र करचुक्ता प्रमाणपत्रसमेत अनलाइनबाट डाउनलोड गर्न सक्नेछन्। विदेशी लगानीकर्ताले प्यान दर्ताका लागि समेत अनलाइनबाट आवेदन दिन सक्ने सुविधा थपिएको छ।
अन्तःशुल्कजन्य प्रतिष्ठानले बुझाउने मासिक विवरण अब करदाताले आफैं रुजु गर्न सक्ने व्यवस्था गरिएको छ। आय विवरणको अनुसूची–१० मा करदाताले आफैं विवरण भर्नुपर्ने व्यवस्थालाई पनि परिवर्तन गरी प्रणालीबाटै विवरण आउने बनाइएको विभागले जनाएको छ।
नयाँ पोर्टल भदौ ९ गतेदेखि परीक्षण प्रयोगमा ल्याइएको हो। परीक्षण अवधि सकिएर नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएसम्म पुरानो करदाता पोर्टल पनि यथावत् रहने विभागले जनाएको छ।
विभागका अनुसार नयाँ प्रणालीले कर प्रशासनलाई डिजिटल, स्वचालित र पारदर्शी बनाउनुका साथै करदाताले कार्यालय धाउनुपर्ने अवस्थालाई क्रमशः घटाउने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्