भारतीय सहयोगमा पाटनका श्रीकुमारी छेँ र नयाँ कुमारी निवासको पुनःनिर्माण सम्पन्न

insight dainik

काठमाडौं । ललितपुरको पाटनमा रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा श्रीकुमारी छेँ र नयाँ कुमारी निवासको पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न भएको छ। भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको करिब ५ करोड रुपैयाँ अनुदान सहयोगमा दुवै सम्पदाको पुनःनिर्माण गरिएको हो।

पुनःनिर्माणपछि सोमबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, सांसद जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा दुवै सम्पदाको उद्घाटन गरेका हुन्।

दुवै संरचनाको पुनःनिर्माण भारत सरकारको भूकम्पपछिको पुनःनिर्माण अनुदानअन्तर्गत भएको हो। सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास)ले पुनःनिर्माणको कार्य कार्यान्वयन गरेको थियो। परियोजनाको डिजाइन तथा व्यवस्थापन परामर्शसम्बन्धी काम भने Indian National Trust for Art and Cultural Heritage (INTACH) ले गरेको थियो।

उद्घाटन कार्यक्रममा सांसद खरेलले नेपालका जीवित सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। उनले सम्पदा संरक्षणका लागि भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरसहित नेपालका विभिन्न क्षेत्रमा रहेका सांस्कृतिक सम्पदाको पुनःनिर्माण र संरक्षणमा भारतको सहयोग महत्वपूर्ण रहेको बताए। उनले सम्पदा पुनःनिर्माणमा स्थानीय समुदायले गरेको सहयोगको पनि प्रशंसा गरे।

भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको सांस्कृतिक सम्बन्धको चर्चा गर्दै पुनःस्थापित ऐतिहासिक सम्पदाले दुई देशबीचको साझा सांस्कृतिक विरासत र मित्रतालाई प्रतिबिम्बित गर्ने बताए।

भारतीय दूतावासका अनुसार भारत सरकारले भूकम्पपछिको पुनःनिर्माण सहयोगअन्तर्गत नेपालका आठ जिल्लामा ३० वटा सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गरेको छ। त्यस्तै, गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, आठ जिल्लामा ८५ वटा शैक्षिक संस्था तथा ११ जिल्लामा १३३ वटा स्वास्थ्य संस्थाको पुनःनिर्माणमा समेत भारतले सहयोग गरेको छ।

पाटनका श्रीकुमारी छेँ र नयाँ कुमारी निवासको पुनःनिर्माणसँगै ऐतिहासिक सम्पदाको संरक्षण, स्थानीय संस्कृति र परम्पराको निरन्तरतामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्