सेबोनको नयाँ निर्देशन : एआई कारोबारमा रोक, सर्किट ब्रेकरदेखि ब्रोकर नियमनसम्म कडाइ

insight dainik

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले विभिन्न सरोकारवाला निकायलाई लक्षित गरी एकैदिन ६ वटा निर्देशन जारी गरेको छ। निर्देशनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, योजना व्यवस्थापक तथा सूचीकृत कम्पनीका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ।

सेबोनले नेप्सेलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी प्रविष्ट गरिएका कारोबार आदेश पहिचान गरी अर्को व्यवस्था नभएसम्म रोक्ने प्रणाली बनाउन भनेको छ। एआई कारोबारलाई स्थायी प्रतिबन्ध भने नलगाइएको बोर्डले जनाएको छ। यसको प्रभाव, अन्तर्राष्ट्रिय अभ्यास र आवश्यक कानुनी व्यवस्थाबारे अध्ययन गरी प्रतिवेदन तयार गर्न पनि निर्देशन दिइएको छ।

बजार संरचनामा सुधारका लागि फ्रि फ्लोट शेयरमा आधारित नयाँ बेन्चमार्क सूचकाङ्क विकास गर्न तथा त्यसैका आधारमा सर्किट ब्रेकरको व्यवस्था पुनरावलोकन गर्न सेबोनले भनेको छ। हाल कायम दैनिक १५ प्रतिशतसम्मको उतारचढावको सीमा आवश्यक भए–नभएकोबारे अध्ययन गरी एक साताभित्र सुझाव पेस गर्न नेप्सेलाई निर्देशन दिइएको छ।

लगानीकर्ताको सुविधा बढाउन मोबाइल एपबाटै दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था, आफ्टर मार्केट अर्डरको प्रभावकारी कार्यान्वयन र सी–केवाईसीलाई टीएमएस खाता खोल्दा प्रयोग गर्न सकिने प्रणाली विकास गर्न पनि भनिएको छ। नयाँ लगानीकर्ताका लागि आधिकारिक डेमो ट्रेडिङ प्लेटफर्म निरन्तर सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ।

सिडिएससीलाई अटो ईडिआएस, रियल टाइम सेटलमेन्ट ड्यासबोर्ड तथा आईपीओ, बोनस, हकप्रद र लाभांशसम्बन्धी पुस नोटिफिकेसन प्रणाली विकास गर्न भनिएको छ।

यस्तै, ब्रोकरलाई ग्राहकको रकम र आफ्नै रकम छुट्टाछुट्टै खाताबाट सञ्चालन गर्न तथा अनिवार्य गुनासो समाधान इकाइ गठन गर्न निर्देशन दिइएको छ। ठूला शेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि १५ दिन अगावै कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।

सेबोनका यी कदमले प्रविधि, पारदर्शिता, लगानीकर्ता संरक्षण र बजार नियमनलाई थप कडाइ गर्ने संकेत दिएका छन्।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्