इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

insight dainik

काठमाडौं, भदौ १० । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्ती आज नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई आफ्नो प्रमुख सन्देष्टाका रूपमा श्रद्धापूर्वक स्मरण गर्ने गर्छन्। उहाँको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उहाँ मदिना जानुभएको थियो। उहाँको जीवन, उपदेश र शिक्षालाई इस्लाम धर्मावलम्बीले धार्मिक तथा नैतिक मार्गदर्शनका रूपमा लिने गरेका छन्।

इस्लामिक पात्रोअनुसार अहिले हिजरी संवत् १४४८ चलिरहेको छ। मक्का र मदिनालाई मुस्लिम समुदायका प्रमुख पवित्र धार्मिक स्थलका रूपमा मानिन्छ। विशेषगरी मक्का हज यात्राका लागि विश्वभरका मुस्लिम धर्मावलम्बीको प्रमुख गन्तव्य हो।

पैगम्बर मोहम्मदको जीवन र शिक्षालाई स्मरण गर्दै जन्मजयन्तीका अवसरमा धार्मिक सभा, प्रवचन, र्‍यालीलगायत कार्यक्रम आयोजना गरिँदैछ। काठमाडौंका नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा पनि विशेष कार्यक्रम हुँदैछन्।

जन्मजयन्तीका अवसरमा मुस्लिम समुदायका अगुवाले पैगम्बर मोहम्मदले दिएको शान्ति, सद्भाव, मानवता र सामाजिक एकताको सन्देशलाई स्मरण गर्दै आपसी भाइचारा र सहिष्णुता कायम गर्न आग्रह गरेका छन्।

नेपालमा पनि मुस्लिम समुदायले हरेक वर्ष विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमसहित पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउँदै आएको छ। आजको दिन धार्मिक कार्यक्रमसँगै समुदायबीच सद्भाव र एकताको सन्देश प्रवाह गर्ने अवसरका रूपमा समेत लिइएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्