भोटेकोशीको बाढीले १५ जलविद्युत् आयोजना प्रभावित, ७५३ मेगावाट क्षमतामा असर

काठमाडौं । भोटेकोशी नदीमा बुधबार बिहान आएको अकस्मात् बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १५ वटा आयोजना प्रभावित भएको नेपाल विद्युत् उत्पादक संघ (इप्पान) को प्रारम्भिक अनुमान छ।

प्रभावित आयोजनाको कुल क्षमता ७५३ मेगावाट रहेको छ। त्यसमध्ये सञ्चालनमा रहेका आयोजनाको क्षमता ३५९ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३९४ मेगावाट छ।

रसुवामा बाढीको प्रभाव बढी देखिएको छ। जिल्लाका आठ आयोजना प्रभावित भएका छन्। निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ र १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ। सञ्चालनमा रहेका १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, २२ मेगावाटको चिलिमे र २० मेगावाटको लाङटाङ खोला आयोजनासमेत बाढीको चपेटामा परेका छन्।

रसुवामा मात्र सञ्चालनमा रहेका पाँच आयोजनाको २३६ मेगावाट र निर्माणाधीन तीन आयोजनाको ३४२ मेगावाट गरी ५७८ मेगावाट क्षमतामा असर परेको अनुमान गरिएको छ।

यता नुवाकोटमा पनि त्रिशूली करिडोरका आयोजना प्रभावित भएका छन्। सञ्चालनमा रहेका ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट तथा २५ मेगावाटको सोलार आयोजनामा बाढीको असर परेको छ।

निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी र १५.६ मेगावाटको मिडल त्रिशूली गंगासमेत प्रभावित भएका छन्।

बाढीका कारण केही आयोजनाको विद्युत् उत्पादन प्रभावित हुनुका साथै निर्माणाधीन आयोजनाको कामसमेत रोकिएको छ। यसबाट ऊर्जा क्षेत्रमा ठूलो आर्थिक क्षति हुनसक्ने देखिएको छ। यद्यपि क्षतिको वास्तविक परिमाण भने स्थलगत अध्ययन तथा विस्तृत विवरण संकलनपछि मात्र यकिन हुने बताइएको छ।

सम्बन्धित निकाय र आयोजनाका प्राविधिक टोलीले क्षतिको विवरण संकलन गर्ने काम अघि बढाएका छन्।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्