नुवाकोट । त्रिशूली बजारमा भोटेकोशीको विनाशकारी बाढी पस्दा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका १ हजार ६ सय ४३ विद्यार्थीलाई सुरक्षित स्थानमा पुर्याउन प्रधानाध्यापक राजेन्द्र दवाडी र शिक्षक प्रदीप पण्डितले देखाएको साहस अहिले चर्चामा छ।
बाढीको जोखिम बढ्दै गएको देखिएपछि बिहान करिब ९:१५ बजे प्रधानाध्यापक दवाडी र शिक्षक पण्डितले विद्यालयमा रहेका विद्यार्थीलाई तत्काल सुरक्षित स्थानतर्फ पठाउन थालेका थिए। विद्यालयसँगै रहेको महिला छात्रावासमा रहेका ३० छात्रालाई पनि तत्काल बाहिर निकालेर सुरक्षित स्थानमा पुर्याइएको दवाडीले बताएका छन्।
दवाडीका अनुसार बाढी विद्यालयतर्फ पस्नुअघि नै सबै विद्यार्थीलाई डाँडातर्फ पठाइसकिएको थियो। विद्यार्थी र छात्राहरू सुरक्षित स्थानमा पुगेपछि मात्रै आफू र शिक्षक पण्डित विद्यालयबाट बाहिरिएका थिए।
‘बाढी पस्नुअघि स्कुलभित्र एक जना पनि विद्यार्थी थिएनन्। सबैलाई डाँडातिर पठाएर म र प्रदीप सर अन्तिममा निस्कियौँ,’ दवाडीले बताएका छन्।
बाढीका कारण त्रिशूली बजारमा ठूलो भौतिक क्षति पुगेको छ। विद्यालयका संरचनासमेत प्रभावित भएका छन्। त्यसैबीच सञ्चार टावर र विद्युत् सेवा अवरुद्ध भएपछि डाँडामा रहेका करिब ५० जना शिक्षक, कर्मचारी तथा विद्यार्थीसँग सम्पर्क हुन नसक्दा अभिभावकमा थप चिन्ता बढेको छ।
सामाजिक सञ्जालमा ‘सबै विद्यार्थी बाढीमा बगे’ भन्ने किसिमका भ्रामक सूचना फैलिएका बेला विद्यालयका शिक्षकहरूले भने धेरै विद्यार्थी सुरक्षित रूपमा घर पुगिसकेको बताएका छन्।
विपद्का बेला सही सूचना सम्प्रेषण गर्नु झनै महत्वपूर्ण हुने भन्दै शिक्षकहरूले अपुष्ट खबरका कारण अभिभावकमा थप त्रास सिर्जना नगर्न आग्रह गरेका छन्। यस घटनाले संकटका बेला तत्काल निर्णय, समन्वय र नेतृत्वले सयौँ बालबालिकाको जीवन जोगाउन सक्ने उदाहरण प्रस्तुत गरेको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्