मृतकको सम्झनादेखि सामाजिक व्यङ्ग्यसम्म : काठमाडौँ, पाटन र भक्तपुरमा गाईजात्राका फरक–फरक झाँकी र परम्परा

insight dainik

प्रताप मल्लको पालादेखि झाँकी प्रदर्शनको परम्परा, जयस्थिति मल्लको समयदेखि मृतकका नाममा जात्रा निकाल्ने चलन; काठमाडौँमा गाईजात्रा, पाटनमा मतयाः–न्यकु र भक्तपुरमा घिन्ताङकिसीले बोकेको छ जीवित सांस्कृतिक इतिहास

काठमाडौँ । नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था, सामाजिक स्मृति र हास्य–व्यङ्ग्यलाई एउटै पर्वमा जोड्ने गाईजात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्व हो । मृत आफन्तको सम्झनामा निकालिने यो जात्रा केवल शोक अभिव्यक्त गर्ने अवसर मात्र होइन, समाजका विकृति, विसङ्गति र समसामयिक घटनामाथि व्यङ्ग्य गर्ने खुला मञ्चसमेत हो ।

गाईजात्रामा झाँकी प्रदर्शन गर्ने परम्परा राजा प्रताप मल्लको पालादेखि सुरु भएको मानिन्छ । तर मृतकका नाममा जात्रा निकाल्ने परम्परा त्योभन्दा धेरै पुरानो रहेको इतिहासमा उल्लेख छ । राजवंशावलीअनुसार राजा जयस्थिति मल्लको शासनकाल अर्थात् नेपाल संवत् ५०० तिरै राजपरिवारमा कसैको मृत्यु हुँदा गीत गाउँदै नगर परिक्रमा गर्ने चलन थियो । बौद्ध परम्परामा भने मृतकका नाममा बत्ती बाल्ने मतयाः र सिङ फुक्ने न्यकु जात्राको परम्परा अझ पुरानो मानिन्छ ।

काठमाडौँमा गाई, जोगी र झाँकी

काठमाडौँमा मृतकका परिवारले गाईलाई सिँगारेर नगर परिक्रमा गराउने गर्छन् । मानिसलाई सेतो जामा लगाएर, छ्वालीको पटुका बाँधेर तथा गाई र गणेशको चित्र अंकित मुकुन्डो लगाइन्छ । अर्को व्यक्तिलाई पहेँलो वस्त्रमा जोगीको स्वरूप दिइन्छ । झोली, चिम्टा र कमण्डलु बोकेको जोगीसमेत जात्रामा सहभागी हुन्छ ।

गाईजात्रामा सहभागीलाई पुरी, मालपुवा, जेरी, स्वारी, फलफूल, दूध र दक्षिणा दिने परम्परा छ । यस्तो दान १०८ सङ्ख्यामा पुर्‍याउने धार्मिक मान्यता पनि छ । सिथी चाडदेखि बन्द भएको यमलोकको ढोका गाईजात्राका दिन खुल्ने र मृत आत्माले सहज रूपमा स्वर्ग जाने विश्वासका कारण मृतकको नाममा दान दिने चलन बसेको मानिन्छ ।

पाटनमा मतयाः–न्यकु, बत्ती र बाजाको यात्रा

पाटनमा गाईजात्राको भोलिपल्ट मतयाः–न्यकु जात्रा विशेष महत्त्वका साथ मनाइन्छ । चक्रबही, इखाछेँ, हौगः, बकुम्बहाः, इखालखु, क्वबहाः, नकबहीः, मङ्गलबजार, नागबहाःलगायत टोलबाट पालैपालो जात्रा निकालिन्छ ।

मृतकको आत्माको शान्तिको कामना गर्दै बौद्ध चैत्यमा दीपदान गरिन्छ । राँगाको सिङ फुकाउँदै, ढोलक, बाँसुरी तथा विभिन्न परम्परागत बाजा बजाउँदै नगर परिक्रमा गरिन्छ । कतिपय सहभागी व्रत बस्छन् भने केहीले शरीरले नाप्दै चैत्य परिक्रमा गर्ने धार्मिक अभ्याससमेत गर्छन् । बिहानदेखि बेलुकासम्म चल्ने यो यात्रामा धूप, बत्ती, नैवेद्य, रोटी, फूल, टीका र फलफूल चढाउने गरिन्छ ।

भक्तपुरमा तायमचा र व्यङ्ग्यको रंग

भक्तपुरको गाईजात्रा ‘घिन्ताङकिसी’का नामले प्रसिद्ध छ । मृतकको घरबाट छ्वाली, बाँस र काठ प्रयोग गरी ‘तायमचा’ नामक खट बनाइन्छ । त्यसमा मृतकको तस्बिर राखेर पूजा गरिन्छ र बाजागाजासहित नगर परिक्रमा गराइन्छ ।

यससँगै सामाजिक, राजनीतिक तथा समसामयिक घटनामाथि व्यङ्ग्य गर्दै ख्यालः, नाच, लठ्ठी नाच र लठ्ठी जुधाइ प्रस्तुत गरिन्छ । यसले गाईजात्रालाई शोकको पर्वबाट सामाजिक टिप्पणी र सामूहिक मनोरञ्जनको पर्वमा रूपान्तरण गरेको देखिन्छ ।

कीर्तिपुरदेखि खोकनासम्म फरक मौलिकता

कीर्तिपुरमा जनैपूर्णिमाको मध्यरातदेखि नै मृतकका नाममा धूपबत्ती बालेर बौद्ध चैत्य र विहार परिक्रमा गर्ने ‘बाःचाःहिलेगु’ परम्परा छ । पाँगामा समूह बनाएर गाईजात्रा मनाउने तथा साँझ पोखरीमा हाँस र राँगाका टाउका–खुट्टा फालेर खोसाखोस गर्ने परम्परा पनि छ ।

खोकनामा भने सिकाली अजिमाको मन्दिरअगाडिको पोखरीमा बाख्रीसँग सम्बन्धित विशिष्ट र कठोर परम्परा देखिन्छ । देवपत्तन र हाँडीगाउँमा रोपाइँ तथा खड्ग जात्रासँग गाईजात्राको सांस्कृतिक सम्बन्ध जोडिएको छ ।

यसरी काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुर हुँदै उपत्यकाका विभिन्न बस्तीमा गाईजात्राले आ–आफ्नै रूप लिएको छ । मृतकको सम्झना, आत्माको शान्तिको कामना, दान–धर्म, सामुदायिक एकता, परम्परागत बाजागाजा र सामाजिक व्यङ्ग्यलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्ने भएकाले गाईजात्रा आज पनि जीवित इतिहासका रूपमा उभिएको छ ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्