जीपीएसमा कैद भयो बेवारिसे शवको ठेगाना, डीएनए मिले आफन्तले लैजान पाउने

insight dainik

चितवन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बगेर चितवन पुगेका तर पहिचान खुल्न नसकेका शवलाई वैज्ञानिक विधिबाट व्यवस्थापन गर्न थालिएको छ। पहिचान नखुलेका शवलाई जमिनमुनि गाडिए पनि भविष्यमा आफन्तले आफ्नो परिवारका सदस्य भएको पुष्टि गर्न सक्ने गरी प्रत्येक शवको डिजिटल अभिलेख र जीपीएस लोकेसन सुरक्षित राखिने भएको छ।

चितवन जिल्ला प्रशासनका अनुसार भरतपुर महानगरपालिका–१ स्थित रामनगर र देवघाटबीचको जंगल क्षेत्रमा शनिबारदेखि शव व्यवस्थापन सुरु गरिएको हो। शव सडेर स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार प्रक्रिया अघि बढाइएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार चितवनमा हालसम्म २३३ शव संकलन भएका छन्। तीमध्ये ६ शवको पहिचान गरी आफन्तलाई बुझाइसकिएको छ भने २२७ शव पहिचान हुन बाँकी छन्।

शव व्यवस्थापनमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ। प्रत्येक शव गाडिएको स्थानको जीपीएस कोअर्डिनेट रेकर्ड गरिनेछ। साथै शवको फोटो, भिडियो, संकेत नम्बरलगायत विवरण डिजिटल अभिलेखमा राखिनेछ। यसले वर्षौं पछि पनि आवश्यक परे शवको स्थान पहिचान गर्न सहयोग पुग्नेछ।

शव गाड्न करिब डेढ मिटर गहिरो खाडल बनाइएको छ। प्रत्येक शवबीच करिब ४० सेन्टिमिटर दूरी कायम गरिनेछ। शवलाई विशेष प्लास्टिक ब्यागमा राखी भित्र संकेत नम्बरसमेत राखिने व्यवस्था गरिएको छ। बाहिरबाट पनि पहिचान गर्न सकिने गरी पुरिएको स्थान नजिकै कंक्रिटको संकेत राखिनेछ।

गाड्नुअघि प्रत्येक शवबाट डीएनए नमुना संकलन गरिनेछ। अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्डअनुसार प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

बेपत्ता व्यक्तिका आफन्तले सम्बन्धित जिल्ला अस्पतालमा डीएनए नमुना दिन सक्नेछन्। नमुना चितवनमा सुरक्षित राखिएको डीएनएसँग मिलेपछि प्रहरीले सम्बन्धित परिवारलाई जानकारी दिनेछ। त्यसपछि जीपीएस लोकेसन र संकेत नम्बरका आधारमा शव पहिचान गरी अन्तिम संस्कारका लागि लैजान सकिने व्यवस्था मिलाइएको छ।

यसरी अहिले पहिचान हुन नसकेका शवलाई सुरक्षित व्यवस्थापन गरिए पनि भविष्यमा आफन्तसम्म पुर्‍याउने बाटो भने खुला राखिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्