ललितपुर — पाटनमा आज आइतबार परम्परागत मतयाः पर्व मनाइँदैछ। प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बी तथा नेवार समुदायका लागि धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको पर्व हो।
मतयाःलाई ‘नेकु जात्रा’ पनि भनिन्छ। नेवारी भाषामा ‘मतः’ को अर्थ बत्ती र ‘या’ को अर्थ यात्रा वा पर्व भन्ने गरिन्छ। त्यसैले बत्ती बालेर धार्मिक स्थलको यात्रा गर्ने भएकाले यसको नाम मतयाः रहन गएको मानिन्छ।
के छ किम्बदन्ती ?
स्थानीय किम्बदन्तीअनुसार मतयाः यात्राको सुरुवात लिच्छवीकालदेखि भएको मानिन्छ। राजा बालचन्द्र देवका छोरा गुणकामदेवले पाटनका विभिन्न टोलका मानिसलाई सहभागी गराएर यो यात्रा सुरु गराएको विश्वास छ। समयक्रममा यो धार्मिक परम्परा पाटनको मौलिक सांस्कृतिक पहिचानका रूपमा विकसित भएको हो।
किन मनाइन्छ ?
मतयाः विशेषगरी दिवंगत आफन्त तथा पूर्वजहरूको सम्झना र उनीहरूको आत्माको शान्तिको कामना गर्दै मनाइन्छ। भक्तजनले धार्मिक स्थलमा पुगेर पूजा, प्रार्थना तथा दीप प्रज्वलन गर्छन्। चामल, फूल र पैसा चढाएर पुण्य प्राप्त हुने तथा दिवंगत आफन्तको आत्माले शान्ति पाउने धार्मिक विश्वास छ।
कहाँ र कसरी घुमिन्छ ?
मतयाः यात्रा बिहानैदेखि पाटनका विभिन्न टोल हुँदै सुरु हुन्छ। सहभागीहरूले पाटनभर छरिएर रहेका करिब १ हजार ४ सय धार्मिक तथा सांस्कृतिक स्थलको दर्शन गर्ने परम्परा छ। यात्रा पूरा गर्न दिनभर लाग्ने गर्छ।
यात्रामा सहभागीले हातमा बत्ती वा मैनबत्ती बोकेर हिँड्ने, परम्परागत बाजा बजाउने तथा विभिन्न सांस्कृतिक भेषभूषा र राक्षसका आकृति धारण गर्ने गर्छन्। विशेष पुजारीको नेतृत्वमा अघि बढ्ने यात्रामा पाटनका विभिन्न टोल, बहाल, चोक, चैत्य र मन्दिर हुँदै भक्तजनहरू धार्मिक स्थलको दर्शन गर्दै अघि बढ्छन्।
एकपटक भए पनि मतयाः यात्रामा सहभागी हुनुपर्छ भन्ने मान्यता पाटनवासीमा अझै जीवित छ। यसले धार्मिक आस्था मात्र होइन, पाटनको प्राचीन संस्कृति, सामुदायिक एकता र नेवार सभ्यताको जीवन्त परम्परालाई समेत पुस्तान्तरण गर्दै आएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्