प्राकृतिक विपत्तिले रूप र रङ्ग बदल्दा मानिसको जिन्दगी कसरी छिनभरमै ध्वस्त हुन्छ भन्ने दृश्य शब्दमा उतार्न कठिन हुन्छ। भोटेकोशीको उर्लंदो बाढीले तहसनहस पारेको नुवाकोटको विदुर पुग्दा देखिने दृश्यहरू केवल भौतिक क्षति मात्र थिएनन्—ती त लाखौं सपना र जीवनका भग्नावशेषहरू थिए। बाढीले बस्ती बगाएको छ। घरका भित्ताहरू छैनन्। कतै घरको नामोनिसान छैन, कतै दुई तल्लासम्म लेदो जमेको छ। बस्ती छैन, बाटो छैन। बाँचेकाहरू आफ्ना आफन्त खोजिरहेका छन्, आफन्तहरू बेपत्ताको खबर पर्खिरहेका छन्। र उद्धारकर्मीहरू—जीवनको आशा खोज्दै, लेदो पन्छाउँदै, भग्नावशेषमा मानिस र पशुपंक्षीको श्वास खोज्दैछन्।
यस्तै कहालीलाग्दो परिस्थिति र चित्कारका बीच काठमाडौँ महानगरपालिकाका प्रमुख आयुक्त स्काउट रञ्जनलाल श्रेष्ठ आफ्नो विपद् व्यवस्थापन टोलीसहित उद्धारका लागि खटिरहनुभएको छ। मानिसहरू ज्यान जोगाउन भौँतारिइरहेका बेला रञ्जनलाल र उहाँको टोली भने आफ्नै ज्यान हत्केलामा राखेर आशाका साना किरणहरू खोजिरहेको छ।
(काठमाडौँ महानगरपालिकाका प्रमुख आयुक्त रञ्जनलाल श्रेष्ठसँगको कुराकानीमा आधारित)
हेलिकप्टरको पर्खाइ र नमेटिएको आँसु
"हामी १० गते नै रसुवाको उपल्लो भेगसम्म पुग्ने अठोटका साथ काठमाडौँबाट निस्किएका थियौँ," आफ्ना शुरुआती पलहरू सम्झिँदै आयुक्त श्रेष्ठ भन्नुहुन्छ, "दिउँसो २ बजे हिँडेका हामी ४ बजे हेलिप्याड पुग्यौँ। तर त्यहाँको दृश्य शब्दमा बयान गर्न सकिन्नथ्यो—चारैतिर कोलाहल, घाइतेको हारगुहार, निरन्तर आकाशमा उडिरहेका हेलिकप्टरहरू । हेलिप्याड व्यस्त थियो। हेलिकप्टरहरू निरन्तर घाइते र शव ओसार्नमै व्यस्त थिए, त्यहि कारण हामी जान सकेनौं । भाग्यले एउटा हेलिकप्टरमा टोलीका दुई जना साथीहरू भने सायद धिकुरे उड्न सके। उहाँहरू उतै उद्दारमा खटिनुभएको छ । हामीले हामी जान नसके पनि औषधिहरू पठाइदियौं ।
दोस्रो प्रयासमा पनि मौसमको प्रतिकूलताका कारण उनीहरू आफैँ उड्न सक्ने स्थिति रहेन। उहाँहरू आकाशबाट रसुवा झर्ने कोसिस असफल भएपछि भोलिपल्ट गाडीमार्फत नुवाकोटको विदुर आइपुग्नुभयो। रसुवा पुग्ने लक्ष्य नुवाकोटमा बदलियो। तर उद्देश्य बदलिएन—उद्धार। बाटो छैन, तर उद्धार रोकिएको छैन । विदुरमा अहिले उनीहरूको अर्को चुनौती हो—बाटो।
बाटोमा लेदो छ। कतिपय ठाउँमा सवारी साधन चल्न सक्ने अवस्था छैन। उद्धार टोली पारी जान खोजिरहेको छ। लेदो पन्छाएर गाडीको ट्र्याक बनाउने काममा पनि उनीहरू जुटेका छन्।
लेदोभित्र दबिएका जीवन र सपनाहरू
विदुर टेकेपछिको पहिलो दृश्यले नै टोलीका हरेक सदस्यको छाती अमिलो बनाइदियो।
"पहिलोपटक बस्तीमा खुट्टा टेक्दा त्यहाँ घरका भित्ताहरू बाँकी थिएनन्। बाटोभरि ६ देखि ८ फिटसम्म बाक्लो लेदो जमिसकेको थियो," श्रेष्ठ सम्झिनुहुन्छ, "कुनै-कुनै ठाउँमा त राहत बाँड्ने कुरै आउँदैन, किनभने राहत लिने बस्ती नै बाढीले बगाएर लगिसकेको छ। त्यहाँ त केवल आफन्तका लाशहरू खोज्ने कारुणिक दृश्य मात्र बाँकी छ।"
टोली अहिले राहतभन्दा पनि उद्धार र जीवितहरूको खोजीमा केन्द्रित छ। दुई तल्लासम्म लेदोले भरिएका घरभित्र छिरेर मानिस वा घरपालुवा जनावर अझै जीवितै फसेका छन् कि भनेर खोजिरहेका छन् । बाढीले तहसनहस गरेका घरसम्म पुग्न सक्ने ठाउँमा उनीहरू पुग्छन्। घरभित्र रहेका सामान निकाल्न सहयोग गर्छन्। मानिस वा जनावर फसेका छन् कि छैनन् हेर्छन्। कुकुर वा अन्य पशुपक्षी भएका घरहरूलाई उनीहरूले विशेष प्राथमिकतामा राखेका छन्। किनकि विपत्तिका बेला मानिसको ज्यान मात्र होइन, हरेक जीवको जीवन महत्वपूर्ण हुन्छ।
"हाम्रा लागि हरेक जीवन उत्तिकै महत्त्वपूर्ण छ," श्रेष्ठ भावुक हुँदै भन्नुहुन्छ, "कुकुर वा अरू पशुपंक्षी फसेका छन् कि भनेर पनि हामी घर-घर चहार्छौं । मानिस त गुमायौँ नै, कम्तीमा साना जीवहरूको प्राण जोगाउन सके पनि मनलाई अलिकति शान्ति मिल्छ।"
बाटो खुलेपछि माथिल्लो क्षेत्रमा अझै जाने योजना छ। तर बाटो नै नभएको ठाउँमा अब हेलिकप्टरबाहेक विकल्प देखिँदैन। त्यसैले उद्धारकर्मीहरू अहिले यहीँ बसेर सोच्छन्—‘जहाँ पुग्न सकिन्छ, त्यहाँ के गर्न सकिन्छ?’ उद्धारको समय हुँदैन, विपत्तिले घडी हेर्दैन। त्यसैले उद्धारकर्मीको पनि समय हुँदैन।
‘आँखैअगाडि लाश थियो, तर हामी पन्छाएर अघि बढ्न बाध्य थियौँ’
उद्धारमा खटिँदाको सबैभन्दा हृदयविदारक क्षण त्यो हुन्छ, जब मानिसले आफ्नो विवशता स्वीकार्नुपर्छ। खोलाको धमिलो बहावमा लाश बगिरहेको देख्दादेख्दै पनि टोलीले त्यसलाई उठाउन नसकेका क्षणहरू छन्।
"खोलाको किनारमा लाश देखिन्थ्यो। अरूले हेर्दा लाग्यो होला—यी स्काउटहरूले वास्ता गरेनन्। तर विपद्को पहिलो नियम भनेकै 'अझै बाँचेका र बचाउन सकिने मानिसलाई प्राथमिकता दिनु' हो," उहाँको स्वर थोरै काँप्छ, "उर्लंदो खोलामा पस्न सक्ने अवस्था थिएन, हेलिकप्टरविना त्यहाँ पुग्नै सकिँदैनथ्यो। आफ्नै आँखैअगाडि लाश देख्दादेख्दै पनि केही गर्न नसक्नुको पीडा कति बिझाउँछ, त्यो शब्दमा भन्न सकिन्न।"
चारैतिर डर र सन्त्रासको वातावरण छ। "खोला बढ्यो, लेदो आयो, बस्ती खाली गर!" भन्ने हल्लाले क्षण-क्षणमा सबैको सातो खान्छ। काठमाडौँ र अन्य ठाउँबाट आफन्त खोज्न आएका मानिसहरूको भिड, उनीहरूको आँसु र छटपटीले वातावरण झनै भारी बनाएको छ। तर, स्काउटको टोली न त दिन भन्छ, न रात— २४ सै घण्टा टोली खटिरहेकै छ।
त्यसमाथि आफन्त खोज्दै काठमाडौंलगायत विभिन्न ठाउँबाट मानिसहरू नुवाकोट आइरहेका छन्। आफन्तको अवस्था बुझ्न आउनेहरूको भीडले पनि उद्धार क्षेत्रमा थप चुनौती थपेको छ। उनीहरू उद्धार मात्र गरिरहेका छैनन्। भीड व्यवस्थापनमा पनि सहयोग गरिरहेका छन्। एकातिर आफन्तको खोजीमा आएका मानिसको आँसु छ। अर्कोतिर उद्धारकर्मीको थकान छ। बीचमा छ बाढीले च्यातेर लगेको जीवन।
स्काउटको तालिम र युवाहरूलाई आह्वान
सुरुमा श्रेष्ठसहित १२ जना DMT तालिमप्राप्त स्काउट नुवाकोट आएका थिए। उनीहरू लामो समयसम्म बस्नुपर्ने भए पनि बस्ने तयारीमै आएका थिए। “जति समय बस्नुपर्ने स्थिति आए पनि बस्छौं, सहयोग गर्छौं भनेर आएका हौं,” श्रेष्ठ भन्छन्। अहिले भने उद्धारमा खटिएका स्काउटको संख्या करिब ९० देखि १०० पुगेको छ। उनीहरू सुरक्षा निकायसँग समन्वय गरेर काम गरिरहेका छन्। विपत्तिको समयमा स्काउट तालिममा सिकेका हरेक सीपको अर्थ उनीहरूले अहिले व्यवहारमै अनुभव गरिरहेका छन्। डोरीको गाँठो बनाउनेदेखि प्राथमिक उपचारसम्म। पानीमा डुब्दा के गर्ने भन्ने अभ्यासदेखि विपद् व्यवस्थापनसम्म। आत्मविश्वासदेखि संकटको समयमा निर्णय लिनेसम्म।
“स्काउटको तालिममा सिकाउने प्रायः सबै काम यस विपत्तिमा काम लाग्यो,” श्रेष्ठ भन्छन्। तालिमको मैदानमा सिकेको सीप अहिले जीवन बचाउने औजार बनेको छ।
श्रेष्ठको युवाहरूका लागि सन्देश सरल छ—तर निकै अर्थपूर्ण।
“आफ्नो-आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुस्। सबैले सक्छन् भन्ने छैन।” विपत्तिमा सहयोग गर्नु भनेको सबैले उद्धारकर्मी बन्नुपर्छ भन्ने होइन। कसैले रक्तदान गर्न सक्छ। कसैले राहत सामग्री जुटाउन सक्छ। कसैले सूचना व्यवस्थापनमा सहयोग गर्न सक्छ। कसैले बाटोमा भीड नबढाई उद्धारकर्मीलाई काम गर्न दिन सक्छ। महत्वपूर्ण कुरा हो—आफूले सक्ने ठाउँबाट सहयोग गर्नु। किनकि विपत्तिका बेला एउटा सानो सहयोग पनि कसैका लागि जीवनको ठूलो आशा बन्न सक्छ। बाढीले धेरै कुरा लग्यो, तर मानवता अझै बाँकी छ ।
नुवाकोटका बस्तीहरूमा अहिले लेदो छ। भग्नावशेष छ। हराएका मानिसको खोजी छ। घरबारविहीन परिवार छन्। खोलाको किनारमा अधुरो खोजी छ। तर यही अँध्यारोबीच केही मानिसहरू अरूको जीवन खोज्दै हिँडिरहेका छन्। आफ्नो ज्यानको जोखिम मोलेर। थकानलाई पन्छाएर। डरलाई मनभित्रै राखेर। उनीहरूलाई थाहा छ—उद्धार गर्न जाँदा आफू पनि जोखिममा पर्न सक्छन्। तर उनीहरू फेरि पनि अगाडि बढ्छन्। किनकि उनीहरूको मनमा एउटा मात्र कुरा छ—‘हरेक जीवन महत्वपूर्ण छ।’
सायद बाढीले घर बगाउन सक्छ। बाटो बगाउन सक्छ। बस्ती बगाउन सक्छ। वर्षौंको सम्पत्ति बगाउन सक्छ। तर मानिसभित्रको करुणा बगाउन सक्दैन। नुवाकोटको लेदोमा अहिले पनि केही मानिसहरू त्यही करुणा खोजिरहेका छन्—रञ्जनलाल श्रेष्ठजस्ता उद्धारकर्मीहरू।
उनीहरू कहिले हातमा डोरी बोकेर हिँड्छन्, कहिले प्राथमिक उपचारको सामग्री। कहिले लेदो पन्छाउँछन्, कहिले भग्नावशेषमा जीवन खोज्छन्। र कहिलेकाहीँ—आँखैअगाडि मृत्यु देखेर पनि केही गर्न नसकेको पीडा बोकेर चुपचाप उभिन्छन्। तर भोलिपल्ट फेरि उठ्छन्। फेरि खोज्छन्। फेरि उद्धारमा लाग्छन्।
विदुरको त्यो लेदो, भत्किएका पर्खालहरू र आफन्त गुमाएकाहरूको चित्कारका बीच रञ्जनलाल र उहाँको टोली अझै पनि हातमा साबेल र मनमा आशा बोकेर खटिरहेको छ—अर्को कुनै जीवित जीवन बचाउने आशामा।
तस्वीरः रञ्जनलाल श्रेष्ठ






प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्