म्याग्दी । अन्नपूर्ण हिमशृंखलाको काखमा रहेको म्याग्दीको प्रसिद्ध पञ्चकुण्ड हिमताल पछिल्लो एक दशकमा अस्वाभाविक रूपमा फैलिएको तथ्याङ्क सार्वजनिक भएको छ। सन् २०१३ मा ०.०४१ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको ताल सन् २०२५ मा बढेर ०.३८८ वर्गकिलोमिटर पुगेको छ। अर्थात् १२ वर्षको अवधिमा यसको क्षेत्रफल ८४६ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
समुद्री सतहबाट करिब ४ हजार ५० मिटर उचाइमा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको पञ्चकुण्ड अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको आसपास अवस्थित छ। अन्नपूर्ण र तिलिचो हिमालबाट पग्लिएको हिउँको पानी जम्मा भएर बनेको यो हिमताल पछिल्लो समय ‘मौरिस हर्जोग पदमार्ग’का कारण पर्यटकीय गन्तव्यका रूपमा समेत चर्चित बन्दै गएको छ।
पहिले पाँचवटा कुण्ड, अहिले एउटै ठूलो ताल
स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनका अनुसार करिब दुई दशकअघि यहाँ हिउँदबाहेकका महिनामा पाँचवटा छुट्टाछुट्टै कुण्ड स्पष्ट देखिन्थे। अहिले ती कुण्डहरू छुट्टाछुट्टै देखिन छाडेर एउटै ठूलो तालजस्तो देखिन थालेका छन्।
तर स्थानीय अभियन्ता तेज गुरुङ भने क्षेत्रफल बढेको भन्ने निष्कर्षमा तत्काल पुग्न नहुने बताउँछन्। उनका अनुसार ताल गहिरिँदा पनि बाहिरबाट ठूलो देखिन सक्छ र अहिलेसम्म पञ्चकुण्डबाट बग्ने खोलामा ठूलो बाढी आएको इतिहास छैन।
पाँच कुण्डको धार्मिक कथा
पञ्चकुण्ड केवल प्राकृतिक सौन्दर्यको स्थल मात्र होइन, धार्मिक आस्थासँग पनि जोडिएको छ। स्थानीय विश्वासअनुसार यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण नामका पाँचवटा कुण्ड थिए। यही कारण यसको नाम ‘पञ्चकुण्ड’ राखिएको बताइन्छ।
शेर्पा भाषामा यसलाई ‘डिकिचो’ भनिन्छ, जसको अर्थ ‘जमेको ताल’ भन्ने हुन्छ। स्थानीयवासीले ताल नजिकैको डाँडालाई कागभुसुण्डी नाम दिएका छन्। धार्मिक कथाअनुसार ऋषि कागभुसुण्डीले यही क्षेत्रमा तपस्या गरी ज्ञान प्राप्त गरेको विश्वास गरिन्छ। पितृको सम्झनामा यहाँ पिण्डदान गर्दा पुण्य प्राप्त हुने जनविश्वाससमेत छ। यही धार्मिक महत्त्वका कारण ताल परिसरमा शिव मन्दिरसमेत निर्माण गरिएको छ।
जलवायु परिवर्तनले बढायो चिन्ता
विज्ञहरू भने हिमालयमा बढ्दो तापक्रम, हिमनदी खुम्चिने क्रम, पर्माफ्रोष्ट पग्लिनु र हिमताल विस्तारसँगै जोखिम बढ्न सक्ने बताउँछन्। हिमतालको पानी रोक्ने मोरिन बाँध कमजोर भएमा अचानक ठूलो पानीको बहाव उत्पन्न हुन सक्ने भएकाले यसको वास्तविक अवस्था वैज्ञानिक रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
हालसम्म पञ्चकुण्डको विस्तृत भौगोलिक जोखिम मूल्याङ्कन भएको छैन। तालको गहिराइ, मोरिन बाँधको अवस्था तथा आसपासको भूगर्भीय संरचना अध्ययन गर्न जियो राडार, सिस्मिक र विद्युतीय प्रविधिसहित स्थलगत अनुसन्धान आवश्यक देखिएको छ।
पञ्चकुण्डबाट बग्ने पानी मिस्त्रीखोला हुँदै नारच्याङमा पुगेर कालीगण्डकी नदीमा मिसिन्छ। यही जलप्रवाह प्रयोग गरेर करिब १५२ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण भएका छन्। त्यसैले तालको जोखिम अध्ययन पर्यटनका लागि मात्र नभई तल्लो तटीय बस्ती र जलविद्युत् संरचनाको सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण बनेको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्