बाढीपीडित ८४ हजारभन्दा बढी नेपालीका लागि राष्ट्रसंघले माग्यो ४९.६ मिलियन डलर सहयोग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाली नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसंघले ठूलो मानवीय सहायता परिचालन गर्ने भएको छ।
राष्ट्रसंघले बाढी तथा पहिरोबाट प्रभावित समुदायका लागि ४ करोड ९६ लाख अमेरिकी डलर अर्थात् करिब ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको सहयोग जुटाउन अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको हो।
राष्ट्रसंघका अनुसार यस सहयोगमार्फत बाढी र पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक मानवीय सहायता पुर्याउने लक्ष्य राखिएको छ। विशेषगरी दुर्गम तथा जोखिममा रहेका बस्तीलाई तत्काल आवश्यक पर्ने आवास, स्वास्थ्य उपचार, स्वच्छ खानेपानी र नगद सहायता उपलब्ध गराउन प्राथमिकता दिइनेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा नेपाल सरकारले तयार पारेको चार महिनाको आपत्कालीन तथा पुनःस्थापना योजनालाई सहयोगले प्राथमिकताका साथ सम्बोधन गर्ने राष्ट्रसंघले जनाएको छ। आगामी हिउँद सुरु हुनुअघि प्रभावित नागरिकलाई आधारभूत सेवा तथा सुरक्षित आश्रय उपलब्ध गराउनु अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ।
नेपालमा रहेका राष्ट्रसंघीय निकाय तथा विभिन्न मानवीय सहायता साझेदार संस्थाहरूले सरकारको नेतृत्वमा भइरहेको उद्धार र राहत अभियानसँग समन्वय गरेर काम गरिरहेका छन्।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले सरकारकै नेतृत्वमा दुर्गम क्षेत्रसम्म शीघ्र सहायता पुर्याउनु अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन्। उनका अनुसार प्रभावित परिवारलाई हिउँदअघि नै सुरक्षित ओत, उपचार, स्वच्छ पानी तथा नगद सहयोग उपलब्ध गराउनु अत्यन्त आवश्यक छ।
भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी तथा पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउँदै आएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्