न्युयोर्कका विद्यालयमा १४ वर्षमुनिका विद्यार्थीलाई एआई प्रयोगमा अस्थायी प्रतिबन्ध

insight dainik

काठमाडौं । अमेरिकाको न्युयोर्क सहरले विद्यालय तहमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलाई लिएर कडा नीति अघि सारेको छ। नयाँ शैक्षिक सत्रदेखि १४ वर्षसम्मका बालबालिकालाई जनरेटिभ एआई तथा ‘कम्पेनियन च्याटबट’ प्रयोग गर्न अस्थायी रूपमा रोक लगाउने घोषणा गरिएको हो।

न्युयोर्कका मेयर जोहरान ममदानीले प्राथमिक तथा मिडिल स्कुलका विद्यार्थीलाई लक्षित गर्दै यस्तो नीति सार्वजनिक गरेका हुन्। बीबीसीका अनुसार यस निर्णयबाट करिब ६ लाख विद्यार्थी प्रभावित हुनेछन्।

मेयर ममदानीका अनुसार बालबालिकाको बौद्धिक तथा सामाजिक विकासका लागि प्रविधिभन्दा शिक्षक, साथीभाइसँगको सहकार्य र प्रत्यक्ष मानवीय सम्बन्ध बढी महत्वपूर्ण हुन्छ। विद्यार्थीले आफ्नै प्रयासबाट जटिल समस्या समाधान गर्ने, सहपाठीसँग छलफल गर्ने तथा शिक्षकसँग सम्बन्ध निर्माण गर्ने वातावरण आवश्यक रहेको उनको भनाइ छ।

जनरेटिभ एआईले प्रयोगकर्ताले दिएको निर्देशनअनुसार लेख, उत्तर, चित्र तथा अन्य सामग्री तयार गर्न सक्छ। विद्यालयमा यसको अत्यधिक प्रयोग हुँदा विद्यार्थीको आफ्नै सोच्ने, लेख्ने र समस्या समाधान गर्ने क्षमतामा असर पर्न सक्ने चिन्ताबीच न्युयोर्कले नयाँ व्यवस्था अघि सारेको हो।

यससँगै विद्यालयमा विद्यार्थीको स्क्रिन टाइम घटाउने प्रस्तावसमेत गरिएको छ। कक्षा ३ देखि ५ सम्मका विद्यार्थीका लागि दैनिक ३० मिनेट तथा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि ४५ मिनेटसम्म स्क्रिन टाइम सीमित गर्ने सिफारिस गरिएको छ।

तर न्युयोर्कको यो नीति एआईप्रति पूर्ण निषेधको रूपमा भने प्रस्तुत गरिएको छैन। माध्यमिक तहका विद्यार्थीलाई वर्षमा दुईपटक एआईसम्बन्धी शिक्षा दिइने योजना छ। साथै, विद्यालयमा एआई शिक्षासम्बन्धी कार्यक्रमको प्रभावकारिता वर्षभरि समीक्षा गरिनेछ।

मेयर ममदानीले यो व्यवस्था स्थायी नभएको स्पष्ट पारेका छन्। एक वर्षसम्म यसको प्रभाव र कार्यान्वयनको अवस्था अध्ययन गरेपछि आवश्यकताअनुसार नीतिमा परिवर्तन गर्न सकिने बताइएको छ।

न्युयोर्कको निर्णयले विद्यालयमा एआईको प्रयोगलाई कसरी सुरक्षित, जिम्मेवार र विद्यार्थीको सिकाइसँग सन्तुलित बनाउने भन्ने विषयमा विश्वव्यापी बहसलाई थप बल दिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्