रसुवा । नेपाल–चीन सीमा नाकासँग जोडिएको रसुवाको टिमुरे क्षेत्रमा राष्ट्रिय झण्डा फहराइएको छ। पछिल्लो समय विनाशकारी बाढीबाट ठूलो क्षति पुगेको टिमुरेमा राष्ट्रिय झण्डा फहराइँदा विपत्तिबीच पनि राष्ट्रियता र देशप्रतिको अटुट भावनाको सन्देश दिएको छ।

भदौ १० गते आएको भीषण बाढीले टिमुरे बजारसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीका कारण बजारका संरचना बग्नुका साथै सुरक्षाकर्मीसहित धेरै व्यक्ति सम्पर्कविहीन भएका थिए। विपद्का बाबजुद नेपाली सुरक्षाकर्मी तथा स्थानीयवासीले उद्धार, खोजी र राहतको कामलाई निरन्तरता दिइरहेका छन्।
यही कठिन परिस्थितिबीच सीमावर्ती क्षेत्रमा राष्ट्रिय झण्डाको उपस्थितिले नेपाल आफ्नो भूगोल र सार्वभौमिकताको रक्षाका लागि दृढ रहेको सन्देश दिएको छ। सीमा क्षेत्रमा राष्ट्रिय झण्डा केवल पहिचानको प्रतीक मात्र नभई देशको सार्वभौमिकता, राष्ट्रिय एकता र नेपाली नागरिकको आत्मसम्मानसँग जोडिएको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ।
यसअघि पनि रसुवागढी नाकामा नेपाली सेनाको कालीजंग गणले नयाँ स्तम्भ निर्माण गरी राष्ट्रिय झण्डा प्रतिस्थापन गरेको थियो। ऐतिहासिक रसुवागढी क्षेत्रमा झण्डा फहराइएको घटनाले सीमा क्षेत्रको ऐतिहासिक तथा राष्ट्रिय महत्वलाई समेत उजागर गरेको थियो।
बाढीपछि टिमुरेमा उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायका विशेष टोली परिचालन भएका छन्। सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले समेत टिमुरे तथा मैलुङ क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो।
विपत्तिले ठूलो क्षति पुर्याए पनि टिमुरेमा फहरिएको राष्ट्रिय झण्डाले स्थानीयवासी, सुरक्षाकर्मी तथा समग्र नेपाली समाजलाई आशा, साहस र एकताको सन्देश दिएको छ। कठिन परिस्थितिमा पनि राष्ट्रप्रतिको भावना कमजोर नभएको प्रतीकका रूपमा यसलाई हेरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्