कायरो — इजिप्टको एक अदालतले लागुऔषध उत्पादन तथा तस्करीसम्बन्धी ठूलो मुद्दामा चर्चित टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई मृत्युदण्डको फैसला सुनाएको छ। ३९ वर्षीया खलिफा इजिप्टमा सुरक्षा तथा अपराधसम्बन्धी विषयमा आधारित टेलिभिजन कार्यक्रम ‘मिसन इम्पोसिबल’ सञ्चालन गरेर चर्चामा आएकी थिइन्।
राज्यसम्बद्ध सञ्चारमाध्यमका अनुसार कायरोस्थित अदालतले खलिफा र अन्य ११ जनालाई लागुऔषध उत्पादनमा प्रयोग हुने सामग्री खरिद तथा आपूर्ति गरी तस्करी गर्ने उद्देश्यले संगठित आपराधिक समूह गठन गरेको आरोपमा दोषी ठहर गरेको हो। उनीहरूमाथि अनुमति नलिएका हतियार तथा गोलीगठ्ठा राखेको आरोपसमेत लगाइएको थियो।
इजिप्टको कानुनअनुसार मृत्युदण्डसम्बन्धी मुद्दामा फैसला सुनाउनुअघि अदालतले देशका ग्रान्ड मुफ्तीबाट धार्मिक राय लिनुपर्ने व्यवस्था छ। सो प्रक्रिया पूरा गरेपछि अदालतले मृत्युदण्डको फैसला सुनाएको हो। यद्यपि, फैसला अन्तिम भने भइसकेको छैन र अभियुक्तहरूले पुनरावेदन गर्न सक्नेछन्।
अधिकारीहरूले अनुसन्धानका क्रममा ७५० किलोग्रामभन्दा बढी लागुऔषध तथा लागुऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको बताइएको छ। दुईवटा अपार्टमेन्टलाई लागुऔषध उत्पादन गर्ने प्रयोगशालाका रूपमा प्रयोग गरिएको समेत अनुसन्धानबाट खुलेको राज्य सञ्चारमाध्यमले जनाएको छ। ती स्थानबाट अवैध हतियार र गोलीगठ्ठासमेत फेला परेको थियो।
खलिफा टेलिभिजन प्रस्तोता मात्र नभई सौन्दर्य शल्यक्रिया क्लिनिककी सञ्चालक तथा पार्टी र कार्यक्रम आयोजना गर्ने उत्पादन कम्पनीकी मालिक पनि हुन्।
यस मुद्दासँगै खलिफा र अन्य केही अभियुक्तलाई एक युवकलाई अपहरण गरी कुटपिट गरेको छुट्टै घटनामा पाँच वर्षको जेल सजाय समेत सुनाइएको छ।
इजिप्टमा पूर्वनियोजित हत्या, आतंकवाद, केही प्रकारका बलात्कार तथा लागुऔषध तस्करीजस्ता गम्भीर अपराधमा मृत्युदण्डको व्यवस्था छ। इजिप्टियन कमिसन फर राइट्स एन्ड फ्रिडम्सका अनुसार सन् २०२५ मा मात्रै इजिप्टमा ५४१ वटा मृत्युदण्डका फैसला सुनाइएको थियो।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्