इन्डोनेसियामा अनाक क्राकाटोआ ज्वालामुखीबाट निस्किएको ज्वालामुखीय खरानीका कारण हवाई यातायातमा ठूलो असर परेको छ। ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तासहित आसपासका क्षेत्रमा खरानी फैलिँदा ८ वटा विमानस्थल बन्द भएका छन् भने करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका छन्।
इन्डोनेसियाका यातायातमन्त्री डुडी पुर्वागन्धीका अनुसार प्रभावित आठ विमानस्थलमा हालसम्म १ हजार ५५८ उडान ढिला भएका छन्। तीमध्ये ९०० भन्दा बढी उडान जकार्ताको सोकार्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने वा त्यहाँ आउने उडान छन्।

मुख्य विमानस्थलको सञ्चालन सोमबार स्थानीय समयअनुसार साँझ ६ बजेसम्म स्थगित गरिएको विमानस्थल प्रशासनले जनाएको छ। अन्य सात विमानस्थल पनि सोमबार बिहानसम्म बन्द राख्ने निर्णय गरिएको थियो। मौसमको अवस्था निरन्तर परिवर्तन भइरहेकाले विमानस्थल कहिले पूर्ण रूपमा सञ्चालनमा आउने भन्ने निश्चित नभएको यातायातमन्त्रीले बताएका छन्।
शुक्रबार रातिदेखि सक्रिय भएको अनाक क्राकाटोआमा शनिबार पनि ठूलो विस्फोट भएको थियो। त्यस क्रममा लाभा बाहिर निस्किएको र विस्फोटको आवाज सयौँ किलोमिटर टाढासम्म सुनिएको इन्डोनेसियाको भूगर्भसम्बन्धी निकायले जनाएको छ। आइतबार पनि थप विस्फोट भएका थिए। निगरानी निकायले आगामी दिनमा पनि थप विस्फोट हुने सम्भावना उच्च रहेको चेतावनी दिएको छ।
ज्वालामुखीय खरानी सोकार्नो–हत्ता विमानस्थल आसपासको हवाई क्षेत्रमा समेत देखिएपछि उडान सुरक्षाका लागि विमानस्थल बन्द गरिएको हो। खरानीका कारण विमानका इन्जिन तथा उडान सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने भएकाले अधिकारीहरूले सावधानी अपनाएका छन्।
जकार्ताका विद्यालयहरूले समेत सोमबारका कक्षा अनलाइन माध्यमबाट सञ्चालन गरेका छन्। समुद्री यातायातमा पनि केही अवरोध देखिएको छ। जाभा र सुमात्रा द्वीपबीच रहेको जलडमरूबाट जाने जहाजलाई थप सतर्कता अपनाउन भनिएको छ। ज्वालामुखीबाट ३ किलोमिटरको क्षेत्रमा जहाज प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।
अनाक क्राकाटोआ सन् १८८३ को विनाशकारी क्राकाटोआ विस्फोटपछि समुद्रबाट विकसित भएको ज्वालामुखी हो। सन् २०१८ मा यसको केही भाग समुद्रमा खस्दा आएको सुनामीमा ४२९ जनाको मृत्यु भएको थियो। तर हालको विस्फोटले सुनामी ल्याउने सम्भावना नरहेको इन्डोनेसियाली भूगर्भ निकायले जनाएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्