नेपालको आपत्तिबीच लिपुलेक हुँदै भारतीय व्यापारीको दोस्रो टोली चीनतर्फ

insight dainik

नेपाल सरकारले लिपुलेकलाई आफ्नो अभिन्न भूभाग भन्दै भारत र चीनलाई कूटनीतिक माध्यमबाट निरन्तर आपत्ति जनाइरहेकै बेला भारतीय व्यापारीहरूको दोस्रो टोली उक्त मार्ग हुँदै चीनतर्फ गएको छ।

व्यास गाउँपालिका–१, कालापानीसँग सीमा जोडिएको लिपुलेक नाकाबाट ६८ जनाको भारतीय टोली चीनको ताक्लाकोटतर्फ गएको जनआस्थाले जनाएको छ। टोलीमा ३२ जना व्यापारी र उनीहरूका ३६ जना सहयोगी रहेको समाचारमा उल्लेख छ। व्यापारीमध्ये पाँच महिला र २७ पुरुष तथा सहयोगीमध्ये १४ महिला र २२ पुरुष रहेको बताइएको छ।

भारत र चीनले सन् २०२६ अगस्टदेखि लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गरेका हुन्। पहिलो चरणमा १६ भारतीय व्यापारी र चार सहयोगी ताक्लाकोट पुगेका थिए। कोभिड–१९ महामारीका कारण सन् २०१९ देखि रोकिएको व्यापारिक आवागमन यस वर्ष पुनः सुरु भएको हो।

तर, लिपुलेकलाई नेपालले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ। नेपाल सरकारका अनुसार १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन्। नेपालको संविधानमा समेत समावेश गरिएको आधिकारिक नक्साले यी क्षेत्रलाई नेपालको भूभागका रूपमा समेटेको परराष्ट्र मन्त्रालयले स्पष्ट गर्दै आएको छ।

गत मेमा नेपाल सरकारले कैलाश–मानसरोवर यात्रासहित लिपुलेक क्षेत्रमा सडक निर्माण, विस्तार र सीमा व्यापारजस्ता गतिविधि नगर्न भारतलाई आग्रह गर्दै भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको थियो।

नेपालको आपत्तिका बाबजुद भारत र चीनले व्यापारिक गतिविधि अघि बढाएपछि लिपुलेक विवाद पुनः चर्चामा आएको छ। नेपालले भने सीमा विवादलाई ऐतिहासिक सन्धि, प्रमाण र कूटनीतिक संवादका आधारमा समाधान गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याउँदै आएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्