पृथ्वीले नपुगेर चन्द्रमातिर ट्रम्पको नजर, झण्डा गाड्दै भने - "चन्द्रमा हाम्रो हो"

insight dainik

चन्द्रमा हाम्रो हो’ भन्दै ट्रम्पको दाबी, अब अन्तरिक्षमा पनि ‘अमेरिका फर्स्ट’—झण्डा गाडेर सम्पत्ति दाबी गर्न खोजेपछि अन्तर्राष्ट्रिय कानुनले भने, ‘त्यति सजिलो छैन!’

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक आफ्नो चर्चित ‘अमेरिका फर्स्ट’ शैलीलाई पृथ्वीको सीमाभन्दा बाहिर पुर्‍याएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा चन्द्रमाको सतहमा अमेरिकी झण्डा देखिने तस्बिर राख्दै उनले छोटो तर अर्थपूर्ण दाबी गरे— “The Moon is ours” अर्थात् ‘चन्द्रमा हाम्रो हो।’

ट्रम्पको पोस्ट हेर्दा अब अमेरिकाले चन्द्रमामा घरजग्गा कारोबार सुरु गर्न लागेको हो कि भन्ने प्रश्न उठ्न सक्छ। तर समस्या के छ भने चन्द्रमामा झण्डा गाड्दैमा लालपुर्जा पाइँदैन।

सन् १९६७ को बाह्य अन्तरिक्ष सन्धिले कुनै पनि राष्ट्रलाई चन्द्रमा वा अन्य खगोलीय पिण्डलाई आफ्नो सार्वभौम भूभागका रूपमा दाबी गर्न रोक्छ। अर्थात् चन्द्रमामा अमेरिकी झण्डा देखिए पनि त्यसले ‘यो जग्गा अमेरिकाको’ भन्ने कानुनी प्रमाणपत्र दिँदैन।

तर ट्रम्प यतिमै रोकिएनन्। उनले अमेरिकी स्पेस फोर्सका लागि तयार गरिएको नयाँ ‘सर्भिस ड्रेस युनिफर्म’ पनि सार्वजनिक गरे। खैरो र कालो रंगको उक्त पोशाक विज्ञान कथाका चलचित्रको सैन्य शैलीबाट प्रेरित देखिन्छ। अब अन्तरिक्षमा पनि ‘ड्रेस कोड’ लागू हुने तयारीजस्तो देखिएको छ।

ह्वाइट हाउसले ट्रम्पलाई सुपरहिरो ग्रिन ल्यान्टर्नको शैलीमा प्रस्तुत गरिएको एआई भिडियोसमेत सार्वजनिक गरेको छ। यसले अमेरिकी राजनीति र अन्तरिक्ष अभियानबीचको दूरी झन् घटाइदिएको छ।

उता ट्रम्पले विभिन्न स्थानको नाम परिवर्तन गर्ने शैलीमा न्यू मेक्सिकोलाई ‘न्यू अमेरिका’ र ओन्टारियो ताललाई ‘लेक अमेरिका’ बनाउने प्रस्तावसहितका एआई तस्बिर पनि सेयर गरेका छन्।

नासाले चन्द्रमामा आधार शिविर बनाउने तयारी गरिरहँदा ट्रम्पले भने सम्भवतः त्यसअघि नै चन्द्रमाको ‘बुकिङ’ गरिसकेका छन्—फरक यति हो, अन्तर्राष्ट्रिय कानुनले त्यो बुकिङ स्वीकार गरेको छैन।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्