हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेल ट्यांकर ध्वस्त भएपछि कच्चा तेल १०० डलरनजिक

insight dainik

इरान–अमेरिका तनाव चर्कियो

एजेन्सी । इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किँदै जाँदा विश्वको महत्वपूर्ण ऊर्जा मार्ग हर्मुज जलघाँटीमा जहाज आवागमन प्रभावित भएको छ। पछिल्लो घटनाक्रमसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरनजिक पुगेको छ।

अमेरिकी सेनाले इरानी तेल ट्यांकरविरुद्ध कारबाही गर्दै पाँचवटा ट्यांकर नष्ट गरेको जनाएको थियो। पछिल्लो विवरणमा अमेरिकाले थप चारवटा इरानी तेल ट्यांकर ध्वस्त पारेको बताइएको छ। अमेरिकी पक्षले यी कारबाही इरानी पक्षबाट अमेरिकी युद्धपोततर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि जवाफी कदमका रूपमा गरिएको दाबी गरेको छ।

यसको प्रतिक्रियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले हर्मुज जलघाँटी पार गर्न खोजिरहेका दुई अमेरिकी जहाजसहित आठ तेल ट्यांकर गरी १० वटा जहाजमाथि कारबाही गरेको दाबी गरेको छ। कुवेत र बहराइनका बन्दरगाहमा रहेका तेल ट्यांकरलाई समेत इरानले चेतावनी दिएको जनाइएको छ।

इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पनि जनाएको छ। जोर्डनका अनुसार इरानबाट प्रहार भएका २० मध्ये १८ क्षेप्यास्त्र आफ्नो वायु प्रतिरक्षा प्रणालीले खसालेको छ। घटनामा अमेरिकी सैनिक हताहत नभएको जोर्डनले जनाएको छ।

तनाव बढेसँगै बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १०० डलरनजिक पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) ९४ डलरभन्दा माथि पुगेको छ।

विश्वको ठूलो हिस्सा समुद्री तेल आपूर्ति हर्मुज जलघाँटी हुँदै हुने भएकाले यहाँ लामो समयसम्म अवरोध भए विश्वव्यापी ऊर्जा आपूर्ति, ढुवानी लागत र पेट्रोलियम पदार्थको मूल्यमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ। तनाव अझ बढे तेल बजारमा थप अस्थिरता आउने जोखिमसमेत देखिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्