क्रिप्टो नेपाल छिर्न पाएन, डलर बनेर राहतमा छिरे

insight dainik

काठमाडौं । नेपालमा क्रिप्टोकरेन्सी किन्न, बेच्न, राख्न र चलाउन कानुनले अनुमति दिएको छैन । तर विपद्का बेला राहत दिन खोज्ने क्रिप्टो प्रयोगकर्तालाई भने नेपालसम्म पुग्ने एउटा अनौठो बाटो खुलेको छ—क्रिप्टो आउँदैन, डलर आउँछ !

भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा देश–विदेशबाट सहयोग आउने क्रम चलिरहेका बेला सामाजिक सञ्जालमा ‘नेपालले क्रिप्टोमार्फत राहत लिन थाल्यो’ भन्ने चर्चा चलेपछि अर्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ ।

अर्थ मन्त्रालयका आईटी इन्जिनियर निरज भुसालका अनुसार नेपालले क्रिप्टोकरेन्सी स्वीकार गरिरहेको छैन । क्रिप्टोबाट पठाइएको सहयोग रकम विदेशमै अमेरिकी डलरमा रूपान्तरण हुन्छ र त्यसपछि मात्र नेपालको बैंकिङ प्रणालीमा प्रवेश गर्छ ।

अर्थात्, बाटोमा क्रिप्टोले नेपाल आउने प्रयास गरे पनि सीमामै उसको परिचय फेरिन्छ—‘क्रिप्टो’ होइन, ‘डलर’ बनेर मात्रै नेपाल प्रवेश गर्छ !

व्यवस्था यस्तो रहेछ—विदेशबाट डिजिटल सम्पत्तिमार्फत सहयोग गरिन्छ, सम्बन्धित अमेरिकी वित्तीय संस्थाले त्यसलाई परम्परागत मुद्रामा रूपान्तरण गर्छ र अन्ततः स्वीफ्ट प्रणालीमार्फत नेपाल सरकारको राहत कोषमा अमेरिकी डलर पठाइन्छ ।

नेपाल राष्ट्र बैंकले पनि नेपाली बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष रूपमा क्रिप्टोकरेन्सी स्वीकार गर्न नसक्ने स्पष्ट पारेको छ । नेपालमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार अझै गैरकानुनी छ ।

त्यसैले अहिलेको हिसाबमा भन्नुपर्दा नेपालमा राहतको नाममा ‘क्रिप्टो प्रवेश’ भएको होइन, क्रिप्टोबाट आएको सहयोगले विदेशमै कपडा फेरेर ‘डलर’को पोसाकमा नेपाल प्रवेश गरेको हो ।

नेपालको बैंकिङ प्रणालीले पनि राहतस्वरूप आएको रकमलाई स्वागत गर्छ, तर क्रिप्टोलाई भने ढोकामै रोक्छ ।

यसरी प्रविधिको नयाँ बाटो प्रयोग भए पनि नेपालको कानुनअनुसार क्रिप्टोको स्थिति भने परिवर्तन भएको छैन—क्रिप्टो नेपालमा अझै निषेधित नै छ ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्