संसारभर लोकतन्त्र, पारदर्शिता, सुशासन र भ्रष्टाचार नियन्त्रणको पाठ पढाउँदै हिँड्ने अमेरिकामा पनि चुनाव आउँदा राजनीति त्यति फरक रहेनछ—जनताको मन जित्न अन्ततः ‘के पाइन्छ?’ भन्ने प्रश्नकै उत्तर खोज्नुपर्ने रहेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीले आगामी मध्यावधि निर्वाचन जिते प्रत्येक अमेरिकी वयस्क नागरिकलाई ५ हजार अमेरिकी डलर दिने घोषणा गरेपछि अमेरिकी राजनीतिमा नयाँ बहस सुरु भएको छ। रकम नेपाली हिसाबले निकै ठूलो हो। सबै वयस्कलाई दिँदा सरकारी खर्च एक ट्रिलियन डलरभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ।
तर रमाइलो पक्ष के छ भने—रकम कहाँबाट आउँछ, कसरी बाँडिन्छ र त्यसका लागि कानुनी बाटो के हो भन्ने कुरा ट्रम्पले खुलाएका छैनन्। अर्थात् पहिले ‘लिन्छौ?’ भनेर सोधियो, त्यसपछि मात्रै ‘कहाँबाट ल्याउने?’ भन्ने हिसाब खोजिने भयो।
नेपालमा चुनावअघि नेताहरूले घरघरमा पुगेर बाटो बनाइदिने, रोजगारी दिने, बेरोजगार भत्ता बढाउने, महँगी घटाउनेदेखि रेल र पानीजहाजसम्मका सपना बाँडेको देखिन्छ। फरक यति हो—नेपालमा आश्वासन प्रायः ‘हाम्रो सरकार आयो भने’ बाट सुरु हुन्छ, अमेरिकामा यसपटक ‘रिपब्लिकन जिते भने ५ हजार डलर’ बाट।
त्यसैले नेपालका नेताहरूले पनि अब अमेरिकी शैली सिक्न सक्ने सम्भावना छ। ‘भोट दिनुस्, पाँच हजार डलर’ भन्न नसके पनि ‘भोट दिनुस्, पाँच हजारको राहत कार्ड’ भन्न सकिएला। अझ हाम्रो राजनीतिक सिर्जनशीलता हेर्दा त्यसलाई पछि ‘सम्भाव्यता अध्ययन भइरहेको छ’ भनेर अर्को पाँच वर्ष तन्काउन पनि सकिन्छ।
ट्रम्पको घोषणालाई आफ्नै पार्टीका केही नेताले समेत आलोचना गरेका छन्। आलोचकहरूले यसलाई मतदातालाई पैसा देखाएर प्रभावित पार्ने प्रयास भनेका छन्। डेमोक्र्याटहरूले पनि यसलाई खाली आश्वासन भनेका छन्।
विडम्बना यही हो—अमेरिकाले विश्वका अरू देशलाई निर्वाचनको शुचिता, लोकतान्त्रिक मूल्य र पारदर्शिताबारे प्रवचन दिइरहँदा आफ्नै राष्ट्रपतिले चुनावी मञ्चबाट जनतालाई हजारौँ डलरको ‘ललिपप’ देखाइरहेका छन्।
त्यसैले अब संसारका विकासशील देशले अमेरिकाबाट सुशासन मात्रै होइन, ‘चुनावअघि के–के बाँड्ने?’ भन्ने राजनीतिक पाठ पनि सिक्नुपर्ने हो कि!
आखिर लोकतन्त्र जहाँ भए पनि मतदाता मतदाता नै हुन्—कहिलेकाहीँ घोषणापत्रभन्दा खल्तीमा आउने रकम बढी आकर्षक लाग्दोरहेछ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्