कारबाहीको तयारीपछि घरमै पुग्यो एम्बुलेन्स, सडकपेटीमा सुत्केरी बबिता अस्पताल भर्ना

insight dainik

राजविराज । गजेन्द्रनारायण सिंह अस्पतालछेउको सडकपेटीमै सुत्केरी भएकी राजविराज नगरपालिका–१४, पर्साहीकी ३० वर्षीया बबिताकुमारी पासवान र उनका नवजात शिशुलाई अन्ततः अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको छ।

सुत्केरी बेथा लागेपछि मंगलबार राति अस्पताल पुगेकी बबिता रगत परीक्षणका लागि ३ हजार २ सय रुपैयाँसम्म लाग्ने बताएपछि आवश्यक रकम जुटाउन नसक्दा अस्पतालबाहिर निस्किएकी थिइन्। आर्थिक अभावमा अस्पताल परिसरछेउमै भौंतारिरहेका बेला बुधबार बिहान करिब साढे ४ बजे उनले सडकपेटीको नालामाथि छोरा जन्माएकी थिइन्।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासन र स्वास्थ्यकर्मीमाथि प्रश्न उठेको थियो। आर्थिक अवस्था कमजोर भएकी गर्भवतीलाई सरकारी स्वास्थ्य संस्थामा उपलब्ध हुने निःशुल्क प्रसूति सेवाबाट वञ्चित हुनुपरेको भन्दै घटनाको छानबिन र दोषीमाथि कारबाहीको मागसमेत उठेको थियो।

घटनापछि अस्पतालका कर्मचारी तथा नर्समाथि कारबाही हुने अवस्था सिर्जना भएपछि बबिता र उनका शिशुलाई अस्पताल ल्याएर उपचार गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ। अस्पतालको एम्बुलेन्स घरमै पुगेर दुवैलाई अस्पताल ल्याएको हो।

अहिले आमा र नवजात शिशुको आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको अस्पतालले जनाएको छ। बबिताको स्वास्थ्य अवस्था र शिशुको अवस्थाबारे चिकित्सकहरूले निगरानी गरिरहेका छन्।

अस्पताल प्रशासनले भने बबिता अस्पतालमा उपचारका लागि आएपछि आवश्यक रगत परीक्षण गराउन भनिएको र त्यसपछि कसैलाई जानकारी नदिई बाहिरिएको दाबी गरेको छ। तर परिवारले भने परीक्षणका लागि आवश्यक रकम नभएपछि अस्पतालबाट बाहिरिनुपरेको र सडकपेटीमै सुत्केरी हुनुपरेको बताउँदै आएको छ।

सरकारको ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच तथा प्रसूति सेवा निःशुल्क हुने व्यवस्था छ। अस्पतालसम्म पुग्न प्रसूति यातायात खर्च तथा आवश्यक अवस्थामा औषधि र अन्य सेवा उपलब्ध गराउने व्यवस्था पनि छ। त्यसका बाबजुद बबिताले अस्पतालको गेटनजिकै सडकपेटीमा बच्चा जन्माउनुपर्ने अवस्था आउनुले सरकारी निःशुल्क प्रसूति कार्यक्रमको कार्यान्वयन र अस्पतालको सेवा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।

अब घटनामा कसको कमजोरी थियो भन्ने विषयमा छानबिन गरी आवश्यक कारबाही हुने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्