काठमाडौ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेल क्षेत्रमा पहिरो खसेर खोलामै ठूलो अवरोध बनेपछि आसपासका बस्तीमा जोखिम बढेको छ। हुंगा (हुंकु) खोलामा माथिबाट खसेको पहिरोले करिब १५ मिटर अग्लो अस्थायी ड्याम बनेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।
खोलामा पहिरो खस्ने क्रम अझै नरोकिएकाले ड्याम थप भरिन सक्ने र त्यसपछि पानी एक्कासि बग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सूचनाका आधारमा खोलाको अवस्था सार्वजनिक गरिएको हो। महाशाखाले हुंगा (हुंकु) खोला तथा त्यससँग जोडिएको दूधकोसी नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
पहिरोले खोलामा प्राकृतिक रूपमा बाँधजस्तो संरचना बनाएपछि पानी जम्मा हुँदै जाँदा त्यसको दबाब बढ्न सक्ने जोखिम हुन्छ। यस्तो अस्थायी ड्याम कुनै पनि बेला फुटेमा जम्मा भएको पानी तीव्र गतिमा तलतिर बग्न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा जोखिम अझ बढ्न सक्छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन भनेको छ। विशेषगरी खोलाको किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दाले खोला र नदीको बहावमा अचानक परिवर्तन आए तत्काल सुरक्षित स्थानतर्फ जान सक्ने गरी तयारी अवस्थामा रहनुपर्ने देखिएको छ।
यसैबीच, पहाडी तथा हिमाली क्षेत्रमा लगातार वर्षा र पहिरोका घटना भइरहेकाले खोलानाला तथा नदी आसपास बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन आग्रह गरिएको छ।
प्राकृतिक रूपमा बनेको ड्यामको अवस्था, त्यसमा जम्मा भइरहेको पानी र थप पहिरोको जोखिमबारे सम्बन्धित निकायले निरन्तर निगरानी आवश्यक रहेको बताइएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्